चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ । चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ ।
अहिले उद्घाटन र बन्द सत्रका लागि भव्य मञ्चको निर्माण कार्य भइरहेको छ । दुवै स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गर्ने काम भइरहेको छ ।
महाधिवेशन हुने स्थलमा कम्तिमा पनि दुईवटा ड्रोनले निगरानी गर्नेछ भने मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिबाट निर्माण गरिँदैछ ।
सोमबार प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक विनोद श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र हेर्न सक्नेछन् । साथै, प्रत्यक्ष लाइभमार्फत पनि महाधिवेशन हेर्न मिल्ने उनले बताए ।
उनले उद्घाटन सत्रका लागि लाइभ भिडियो क्यामेरा, कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने बताए ।
संयोजक श्रेष्ठका अनुसार मंसिर ९ गते उद्घाटन सत्रको मञ्च तयार हुने र हस्तान्तरण गरिने बताए । उनका अनुसार हाल मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको छ ।
