पातारासी–५ बालविवाह मुक्त घोषणा


जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ। आइतबार कार्यक्रम आयोजना गरी ५ नं. वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ।

यसअघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले विवाह हुने गरेको छ। बालविवाहले महिलाको स्वाथ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ।

परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले बताइन्।

उनले भनिन्, ‘अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझाएका छौँ। बालविवाह गर्नेलाई गाउँपालिकाबाट हुने सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह बहिष्कार गर्ने संस्कार विकास भएको छ।’ यसको लागि सातवटै वडामा बालक्लब गठन गरिएको थियो।

पातारासीको महिला तथा बालबालिका शाखाले साझेदारी संस्था किर्डाक नेपाल र वर्ल्डभिजनले सहयोगमा बालविवाह मुक्त वडा गरेको हो।

त्यस्तै पातारासी गापाका अध्यक्ष पूर्णसिंह बोहोराले यसअघि स्वास्थ्यकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको बिताए। अन्य वडालाई क्रमिक बालविवाह मुक्त वडा घोषणा गरिँदै पालिका घोषणा गर्ने तयारी रहेको स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाले बताए।

पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावकले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको छ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष दिलमाया शाहीले बालविवाह रोकिएको खण्डमा सभ्य र समृद्ध जिल्ला निर्माण हुने बताइन्। किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले पातारासीमा २० वर्षमुनि बिहे गर्ने शून्यमा झरेको बताए।

त्यस्तै पातारासीको ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बालक्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा (बाल स्पन्सर) परियोजना लागू गरी यो अवस्थामा पुगेको रामशंकर दवाडीले बताए। किर्डाकले पातारासीमा बाल संरक्षण कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आएको हो।

मुलुकी अपराध संहिता, २०७४ ले बीस वर्ष नपुगी विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ।

त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *