कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन सुदूरपश्चिमका नाकामा कडाइ


बैतडी-दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ।

भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो।

यी नाकाबाट आवागमन बढी हुने गरेको छ। “आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन ।” उनले भने, “ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ।”

पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उनको भनाइ थियो। डा. अवस्थीले बताए, “सङ्घीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौँ।”

सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *