सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. गुणराज लोहनीले अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको बताए ।
मन्त्रिपरिषद्ले यसअघि नै ९ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइसकेको छ । मन्त्रिपरिषदको बैठकले जोखिम रहेका ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको हो ।
सरकारले दक्षिण अफ्रिका, हङकङ, बोत्स्वाना, नामिबिया, जिम्बाबे, लेसोथो, मोजाम्बिक, मलाबी र इसबाटिनीबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । जसअनुसार ती देशबाट आउने, ती देशलाई ट्रान्जिट बनाएर आउने तथा तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरेर आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
