शौचालय जान्छु भनेर प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास


बझाङमा लागुऔषध चरेससहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास गरेकी छन् । मंसिर १४ गते २८ किलो चरेससहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका वडा नं ३, की कल्पना रोकायालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुदै उनले गर्दा शौचालय जाने बहाना बनाएर हिरासतको शौचालयभित्रै झुण्डिएर आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । रोकायाले आफूले प्रयोग गर्ने गरेको दोपट्टालाई शौचालयको भेन्टिलेसनमा रहेको रडमा बाँधेर आत्महत्याको प्रयास गरेको बझाङका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर विस्टले बताए ।

‘पासो लगाइसकेपछि चिच्याएको सुनेर महिला प्रहरीहरूले सौचालयको ढोका फोरेर उद्धार गरेको हो । पासो लाउन प्रयोग गरेको दोपट्टा लचकदार भएकोले उनको ज्यान जान पाएन,’ विष्टले भने, ‘लचकदार भएको कारण तन्किएर भुई छोएकोले उनको ज्यान बचेको हो ।’ रोकायाले फेरि पनि आत्महत्याको प्रयास गर्न सक्ने भएकोले प्रहरीले विषेश निगरानी गर्ने उनको भनाइ छ ।

रोकायाको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । केहीबेरको उपचारपछि उनको होस आएको र अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए । यसअघि मंसिर ४ गते प्रहरी हिरासतमै आत्माहत्या दुरुत्साहनको मुद्दा खेपिरहेकि एक वृद्धाको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *