काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने जानकारी दिनुभएको छ । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ ।
आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने हुनुभएको हो । उहाँ पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुग्नुभएको छ । ‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भन्नुभयो ।
उहाँका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिनुभयो । अध्यक्ष आलीलाई आमन्त्रण गर्न प्रचण्डले फोन गर्दा उहाँले आफू पूर्वनिर्धारित गृहजिल्ला झापाको कार्यक्रममा रहनु परेको भन्दै एमालेको तर्फबाट महासचिव शंकर पोखरेल आउने जानकारी गराउनु भएको छ ।
