उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
बिहीवार आज कुरिनटार चितवनमा रहेकाे सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
उहाँले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताउनु भयो । उहाँले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र सङ्कल्पको आवश्यकता रहेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले सङ्गठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा नागरिकको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्धारकाे काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताउनु भयो । उहाँले समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन आग्रह गर्नुभयो ।
