सर्वोच्च अदालतको २३ फागुन (२०७८) को आदेशबाट विघटित नेकपाको दुई घटक थिए, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)। र, अन्तिम अवस्थासम्म नेकपा विभाजन हुन नदिनेमध्येका एक प्रमुख पहलकर्ता थिए, दशौँ महाधिवेशनबाट निर्वाचित एमाले महासचिव शंकर पोखरेल।
राजधानीमा आइतबार (११ पुस) देखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रलाई शुभकामना–सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा विभाजनका कारणहरुको गम्भीर समीक्षा यो महाधिवेशनबाट गर्न आग्रह गरे।
नेकपा विभाजन, सत्ता गठबन्धन र एमालेको आगामी यात्रा, उसको दशौँ महाधिवेशन र पोखरेलको नेतृत्व लगायतका विषयमा एमाले महासचिव शंकर पोखरेलसँग लामो वार्ता गरेको छ।
प्रस्तुत छ– सो वार्ताको सम्पादित अंशः
नेकपाभित्र विवाद देखिँदा मिलाउने प्रयासस्वरुप तपाईं पटक पटक खुमलटार पुग्नुभएको पनि हो। तर, कसको कमजोरीले गर्दा विवाद समाधान हुन सकेन र नेकपा विभाजनको विन्दूमा पुग्यो?
एकता जोगाउने सन्दर्भमा संसद विघटनको दिन विहान ५ पुस (२०७८) मा मैले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेको थिएँ। त्यो भेटका बेला ‘यी तीन वटा काम नगर्नुहोला’ भनेर मैले प्रचण्डजीलाई भनेको थिएँ।
एक, तपाईंहरुले केपी ओलीमाथि जस्तो अभियोग लगाउनु भएको छ, त्यो रुपान्तरणकारी होइन, निषेधकारी अभियोग हो। एउटा कमरेडले अर्को कमरेडलाई सच्याउन लगाउने आरोप होइन यो। तर, उहाँले के भन्नुभयो भने, ‘हाम्रो चौथो महाधिवेशन–मशालको धारभित्र यसलाई सहज मान्दै आएका छौँ।’
मैले सोधेँ– त्यसका परिणामहरु के भए भन्ने कुरा पनि फर्केर हेर्नुभएको छ? जब निर्मल लामा र मोहनविक्रम सिंहबीच यस्तै बहस चल्यो, पार्टी विभाजन भयो। जब मोहनविक्रममाथि चरित्रको प्रश्न खडा गरेर तपाईंहरुले बहस सुरु गर्नुभयो, पार्टी विभाजन भयो। त्यसपछि तपाईंहरुले को राष्ट्रवादी भन्ने विषयमा बहस सुरु गर्नुभयो, बाबुरामजी बाहिर निस्कनुभयो। क्रान्तिकारिताको प्रश्नमा विप्लवजीहरु बाहिर निस्कनुभयो। त्यसैले, बहस कस्तो विषयमा गर्ने भन्ने सन्दर्भ बुझ्न सक्दैन भने पार्टी नेतृत्वले पार्टी निर्माण गर्न सक्दैन। तपाईंले चौथो महाधिवेशनदेखि नै बहस गर्दै आएका छौँ भनेर जे कुरा भन्दै हुनुहुन्छ, नेकपामा एमालेभित्रको परम्परापनि जोडिएको छ भन्ने कुरा नबुझिकन यस प्रकारको बहसलाई ‘जष्टिफाई’ गर्न खोज्नुभयो भने यसले दुर्घटनामा पुर्याउँछ। यो काम नगर्नुस्।
दुई, एकता गर्दा महाधिवेशन नहुँदासम्म दुईवटा मनोविज्ञानबीचको सम्वेदनशीलतालाई सम्बोधन गर्नुपर्छ भन्ने हामीले ठान्यौँ। र, नेकपामा दुईवटा अध्यक्ष राख्यौँ। ‘महाधिवेशन पछाडिमात्रै हामी प्रणालीमा प्रवेश गर्छौं’ भन्यौँ। तर, महाधिवेशन नहुँदै तपाईं जे खेल खेल्दै हुनुहुन्छ, त्यो एकताको पक्षमा खेलिएको खेल होइन। कमिटीको बहुमतले हटाउने खेल उचित होइन। यसले एकताको भावना भत्काउँछ। एकता मुख्यतः दुइटा नेतृत्वलाई केन्द्रमा राखेर गरेको हो। एमालेको बैधानिक प्रतिनिधि केपी हो, माओवादीको बैधानिक प्रतिनिधि तपाईं नै हो। तपाईंहरु बीच एकता हुँदैन भने त्यो एकता असफल हुन्छ। एकता नहुने काम गर्दै नगर्नुस्।
तीन, संसदीय प्रणालीमा दलभित्र नेता छान्ने काम गर्न तपाईंहरु सक्नुहुन्छ। दलबाहिर गएर प्रधानमन्त्रीलाई हटाउने कुरा गर्नुभयो भने दुर्घटना हुन्छ।
यो काम मैले प्रणालीका लागि गरेको थिएँ। प्रणाली भत्काउने काम नगर्नका लागि सम्झाउन मैले धेरै कोशिष गरेँ। तर, सफल भइनँ। त्यसपछि के भयो, त्यो परिणाम आइसक्यो।
आगामी चुनावमा फेरि वाम गठबन्धन हुने सम्भावना छ कि छैन?
हामी मुद्दामा ‘कम्प्रोमाइज’ गर्दैनौँ। राष्ट्रिय स्वाधिनता र स्वाभिमानको प्रश्न, विकास र समृद्धिको प्रश्न, समाज रुपान्तरणको प्रश्नमा जे कुरा अघि सारेका छौँ, त्यस कुरामा सहमत हुनेसँग मात्र हामी मिलेर अघि बढ्छौँ।
सत्ता–गठबन्धन टुटाउने प्रयास पनि त होला नि?
यो गठबन्धन अपवित्र छ, जनताको एजेण्डामा आधारित छैन। त्यसैले, आफैँ झगडा गरेर गठबन्धन टुट्यो भने हाम्रा लागि सुखदै हुन्छ। कांग्रेसले आफ्नो भविष्य जोगाउने हो भने गठबन्धनबाट बाहिर निस्कँदा राम्रो होला। यही गठबन्धन बोकेर हिँड्यो भने चुनावपछि हामी सहजै सत्तामा आउँछौँ।
भर्खर सम्पन्न दशौँ महाधिवेशनबाट महासचिवको जिम्मेवारी पाउनु भएको छ। यो पूर्व निर्धारित जिम्मेवारी थियो कि महाधिवेशन हलमा गएपछि मात्र जानकारी भएको हो?
पार्टीभित्र विचारधारात्मक बहसहरु हुँदा र पार्टी संकटमा पर्दा नै पार्टीमा नेतृत्वको निर्माण हुन्छ। विचारधारात्मक बहस र पार्टी– आन्दोलनमाथिको संकटको समयमा कसले के भूमिका निर्वाह गरेको छ भन्ने कुरा कार्यकर्ताले नजिकबाट मूल्याङ्कन गरिरहेका हुन्छन्। त्यही क्रमबाट नेतृत्वको स्वीकार्यता तयार हुन्छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट भएको नेतृत्व निर्माणमा पनि यसको प्रभाव छ। एमाले विभाजनपछि हामी ठूलो राजनीतिक संकट र चुनौतिबाट गुज्रिएका थियौँ। त्यसलाई हामीले सामना गर्यौँ, सफलपनि भयौँ। त्यसक्रममा विकसित भएको नेतृत्वलाई हामीले महाधिवेशनको माध्यमबाट संस्थागत गरेका हौँ।
पार्टी विभाजनले नेतृत्वमा आउन तपाईंलाई लाभ नै पुग्यो। होइन त?
यो कुनै व्यक्तिको फाइदा वा नोक्सानको कुरा होइन। राजनीतिलाई एउटा बाटो देखाउने सन्दर्भमा वैचारिक–राजनीतिक–सांगठानिक स्पष्टता जरुरी थियो। परम्परागत रुपले भन्दा अलिक फरक हिसावले हिँड्नु जरुरी थियो। यही कुराले नेकपामा एक किसिमको अन्तरविरोध पैदा भयो। अन्तरविरोधको एउटा पक्ष राष्ट्रियताको सन्दर्भमा नयाँ बाटोबाट हिँड्नुको साटो परम्परागत लिगेसीमा नै हिँड्न खोज्यो। हामी त्यो भन्दा फरक– मुलुकको स्वाधिनतालाई जोगाउने हिसावले हिँड्न चाह्यौँ र यो नेतृत्व स्थापित भयो।
कसरी? यसको अलिक व्याख्या गरिदिनुस् न।
हामीकहाँ पछिल्लो समय एउटा भाषाको प्रयोग भएको छ– माइक्रो म्यानेजमेन्ट वा नियन्त्रित अस्थिरता। उहाँहबरु यी चिजहरुबाट प्रभावित हुनुभयो। हामीहरु ती चिजलाई सामना गरेर अघि बढ्ने सोचमा पुग्यौँ।
