नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा नउभिने निर्णय गरेको छ।
शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय भएको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए।
थप निर्णय सचिवालयले गर्ने समेत उनले जानकारी दिए। ‘संशोधनसहित संसदमा आए हामी फेरि छलफलमा जुट्ने छौं’, उनले भने। आफूहरू संसद र जनता जेमा पनि तयार रहेको उनले बताए।
सत्ता गठबन्धनमा नै एमसिसी संसदमा टेबल गर्न हुने/नहुने विवाद हुँदै आएको थियो। नेपाली कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा थियो भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने अहिले नै टेबल गर्न नहुने पक्षमा थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले त शुक्रबारको संसदमै टेबल गर्ने मुड बनाएका थिए। तर बिहीबार साँझ बसेको सत्ता गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार एमसिसी संसद टेबल हुन पाएन।
यसअघि सत्ता साझेदार माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी टेबल भए गठबन्धनबाटै बाहिरिने निर्णय गरेको थियो।
