कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमासा हो : ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमाशा भएको बताएका छन्। अहिले कांग्रेस कम्युनिष्ट भन्दा ‘परामादेशी’ र ‘जनादेश चाहने’ दुई शक्ति मात्रै रहेको तर्क गरेका छन्। 

उनले कम्युनिष्ट पार्टी फोडेर दक्षिणपन्थी सरकार बनाउने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कम्युनिष्ट भन्न नहुने तर्क गरेका हुन्। उनले भने, ‘कम्युनिष्ट सरकारलाई भोट नहालेर ढाल्ने, पछिल्लो ढोकाबाट लुसुक्क गएर दक्षिणपन्थीको सरकार बनाउने, त्यस्तालाई कम्युनिष्ट भनिदैन। उनीहरु पतित भए । यो पनि पतन होइन भने केलाई पतन भन्ने?’ 

एमाले नेता घनश्याम भुसालले मंगलबार कान्तिपुर दैनिकमा ‘कम्युनिष्ट पार्टीको भविष्य, एकता वा सत्यनाश’ शीर्षकमा लेख लेखेका छन्। तर, ओली एमालेबाहेक अरुलाई कम्युनिष्ट मान्न तयार छैनन्। 

उनीहरु प्रतिक्रियावादीका तलुवा चटुवा भएर पछि-पछि गएर पातका दुना थाप्दै हिँडेको टिप्पणी गरेका छन्। थपे, ‘पातका दुना थापेर अलिकति मलाई पनि भन्दै प्रसाद माग्दै हिँडेका छन्। त्यस्ता पनि कम्युनिष्ट शक्ति हुन्छन्?’  

उनले परामादेशी प्रतिगामी शक्ति दक्षिणपन्थी एकातिर र जनपक्षीय शक्ति र जनताको आदेश मान्ने शक्ति रहेको बताएका छन्। ‘मुद्दा जितेर सरकार बनाउने, अदालतले सरकार हटाइदियो, बनाइदियो र प्रधानमन्त्रीको नाम तोकिदियो। अझ यति घन्टाभित्र शपथ लिनुपर्ने समेत भनिदियो,’ उनले भने, ‘ त्यो जनविरोधी शक्ति हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *