आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी


आसन्न स्थानीय तह चुनावका लागि गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको स्मरण गराउँदै आयोगले आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको हो।

आयोगको अनुरोधलाई बेवास्ता गरी कसैले आचारसंहिता उल्लंघन गरे आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी समेत दिएको छ।

विभिन्न राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट, टोपी, क्याप, मास्क, लकेट, स्टिकर, झोला, ब्याच जस्ता सांकेतिक सामग्रीको उत्पादन तथा विक्री वितरण भइरहेको सूचना प्राप्त भएको आयोगले जनाएको छ।

यसरी आचारसंहिता उल्लंघन कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफू मातहतका उद्योग तथा फर्मलाई परिपत्र गरी सहयोग गर्न आयोगले आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को घ मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण वा प्रदर्शन गर्न गराउन नहुने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *