प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनभित्र कसैले शंका नगरी गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेका छन्।
पाँच दलीय गठबन्धनले रूपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘गठबन्धन ओलीजीको ठूलो अत्याचार भएपछि बनेकाे हाे। उहाँकाे कसैले विरोध गर्याे भने पार्टीमा बस्नै नदिने अत्याचारले अहिलेकाे परिस्थिति बनेकाे छ। त्यसलै गठबन्धनका दलभित्र कसैले शंका गर्न हुँदैन।’
अहिलेसम्मको उपलब्धिलाई रक्षाको लागि गठबन्धन आवश्यक भएको बताए। संविधानअनुसार सरकार बनाउन कसैको बहुमत नआउने भएकाले गठबन्धन राष्ट्रिय आवश्यकता बनेको उनको भनाइ छ।
देउवाले भने, ‘हामीले तालमेल गरेर उम्मेदवारी दिएका छौँ। सबैलाई जिताउन आवश्यक छ। कुनै किसिमको शंका उपशंका हाम्रो र अरू पार्टीले गर्न हुँदैन। अहिलेको संविधानअनुसार एकल सरकार कुनै पार्टीको बन्न सक्दैन। त्यसैले गठबन्धन आवश्यक र अनिवार्य छ। राष्ट्रले मागेको हो।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक संविधानमाथि प्रहार गरेको आरोप लगाए। ‘जनताले ५ वर्षको लागि पठाएको संसद ओलीजीले विघटन गरे। लहरको आधारमा संसद् भंग गर्न नपाउने व्यवस्था गरेको छ। अदालतले न्याय गरेर संसद् पुनःस्थापना गरेको छ’ देउवाको भनाइ छ।
उनले फरक प्रशंगमा बोल्दै अमेरिकी सहयोग परियोजना एमसिसी बिना ब्याजको अनुदान भएको बताए। देउवाले भने, ‘हामीलाई विकास निर्माणको काम गर्नुछ। विदेशी सहयोग चाहिन्छ। एमसिसी बिना ब्याजको अनुदान हो। राम्रो काम भयो भने यस्तो सहयोग जापान कोरिया सबैले भारत चिन सबैको सहयोग लिनुपर्छ।’
