नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन्। इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो’, उनले भने, ‘वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन्?
गठबन्धनका हरेक अनुहार ढाडिएका किर्नाजस्ता भएको ओलीको टिप्पणी थियो।
अर्को प्रसंगमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका मतदातालाई सातो जानेगरी हप्काएको बताए।
‘अस्ति प्रचण्डले खुरुक्क हँसिया हथौडामा भोट हालेर मेरी छोरी नजिताए दुर्घटना हुन्छ, जिताए भने खुशी हुन्छु र गठबन्धन १०, १५ ,२० वर्ष लैजान्छु भनेछन्, ओलीले भने, ‘दुर्घटनाको धाक नदिए हुन्छ अन्तिममा उहाँले चिसै पानीले नुहाउने हो।’
प्रचण्डले थर्काएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘रेनुलाई प्रचण्डले होइन मैले उठाएको’ भन्न थालेका ओलीको भनाइ थियो।
‘हिजो देउवाजीले महिला उठाएकाले काठमाडौं र भरतपुरमा मेयर जिताउनुपर्छ भन्नुभएछ’, ओलीले भने, ‘त्यसो भए हामीले ५५ ठाउँमा पालिका अध्यक्ष वा मेयरमा महिलालाई उठाएका छौं, ती ठाउँमा तपाईँहरुले उम्मेदवारी फिर्ता लिनुस्।’
गठबन्धनका नाममा महिलाका हक खोसेर महिला जिताउनुपर्छ भन्नुको कुनै तुक नहुने ओलीको भनाइ छ। ‘गठबन्धनका नाममा महिलाका हक खोस्ने अनि महिलाको कुरा गर्ने?’ ओलीले भने, ‘महिला भनेपछि अरु कार्यकर्ता नहुने छोरी नै चाहिने पनि हुन्छ? राष्ट्रियसभामा पनि अरु नहुने भाइ नै चाहिने?’
