सत्तारुढ गठबन्धन ‘टालाटुली बटुली बनाएको पुतली’ हो : ओली


इटहरी : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई ‘टालाटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन्। सुनसरीको इटहरीमा एमालेले आज (शनिबार) गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै पनि काम ठिक नगर्ने दाबीसमेत गरे।

उनले अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप पनि लगाएका छन्। ‘वडामा त एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान्?‚’ अध्यक्ष ओलीले प्रश्न गरे। उनले अहिलेको गठबन्धन गन्तव्यहीन र दृष्टिकोणविहीन बनेको आरोप लगाए। उनले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दाबीसमेत गरे।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ‘मक्किएका मकैको ढोड’को संज्ञा दिए। कांग्रेसले टेकेर हिँडेको मकैको ढोड कहीँ न कहीँ दुर्घटना हुने निश्चित रहेको उनले ठोकुवा गरे। उनले जाति, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा एमालेले राजनीति नगर्ने प्रष्ट्याए।

उनले कांग्रेसले २७ वर्षसम्म नेपालको शासन गर्दा पनि विकासका कुनै पनि काम गर्न नसकेको आरोप लगाए। एमाले सरकारमा जानासाथ देशमा ‘लछिन लाग्ने’ उनको दाबी छ। स्थानीय तहको चुनावबाट कांग्रेस एमालेको ‘कम्मर कम्मर आउने’ र आमचुनावपछि भने ‘घुँडा घुँडा आउने’ पनि उनको भनाइ थियो।

गठबन्धनका अन्य दलको काम कांग्रेसको आङमा बसेका झिँगा धपाउने मात्र भएको उनको भनाइ छ। प्रचण्डतर्फ संकेत गर्दै उनले भने‚ ’दुर्घटनाको धम्की नलगाए हुन्छ, चिसैपानीले नुहाए हुन्छ।’ उनले प्रचण्डको धम्कीले केही नहुने बताए। उनले नयाँ मतदाताहरूलाई सोचविचार गरेर मात्र मतदान गर्न आग्रह गरे।

राप्रपातर्फ संकेत गर्दै अध्यक्ष ओलीले भने‚ ‘राजतन्त्रको चिहान खनेर केही हुनेवाला छैन।’ जनताका छोराछोरी विदेश गए पनि बुढेसकालमा पाल्ने पार्टी एमाले भएकाले सूर्य चिह्नमा मतदान गर्न ज्येष्ठ नागरिकलाई आग्रह गरे।

एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, एमाले जिल्ला अध्यक्ष रेवती भण्डारी, प्रदेश सदस्य लिलम बस्नेत, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी लगायतले इटहरीमा फेरि पनि एमालेले जित्ने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *