प्रचण्ड–माधव पार्टीबाट बाहिरिएपछि उत्साह बढेको छ : अध्यक्ष ओली


नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूह बाहिरिएपछि पार्टीमा उत्साह बढेको बताएका छन् । 

बिहीबार नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूह बाहिरिएपछि पार्टी अनुशासित रुपमा अघि बढेको र उत्साह पनि थपिएको बताएका हुन् । उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए । उनले नेकपाको प्रचण्ड–माधव समूहले सूर्य चिन्हबाट चुनाव लड्न नपाउने दाबी पनि गरेका छन् । ओलीले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए ।

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए । सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने उनको भनाई छ । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको उनले बताएका छन् ।

नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे । कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *