राष्ट्रपति निर्वाचन : १ बजेसम्म ६९४ सांसदले गरे मतदान


राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ तय भएको छ।

पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *