काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।
त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले बिज्ञप्तीमार्फत जनाएको हो ।
विभागका अनुसार बर्ड फ्लू भेटिएको फार्म र आसपासका १ हजार ८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ ।
विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ।
अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेपछि नेपालमा पनि पशुसेवा बिभागले सर्तकता बढाउँदै गएको छ ।
