स्थानीय तहमा थेगिनसक्नु अनियमितता बढ्यो : राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन्।

बुधबार महालेखा परीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्।

उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन्। उनले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरुबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका सुधारका क्षेत्रहरु पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढी रहेको पक्ष औंल्याएका छन्। अपेक्षाकृत रुपमा बेरुजु फर्स्योट भएको देखिँदैन। त्यसैले विगत लामो समयदेखि कायम रहेको बेरुजुलाई यस पटक अभियानको रुपमा फस्र्यौट गर्दै आगामी आर्थिक कारोबार गर्दा बेरुजु नहुने व्यवस्था मिलाई आर्थिक अनुशासन पालनामा सबैको ध्यान जानुपर्दछ। पछिल्लो समयमा नवस्थापित स्थानीय तहहरुमा अनियमितता वृद्धि हुँदै जानु चिन्ताको विषय बनेको छ।

हाल स्थानीय तहको निर्वाचन सम्पन्न भइ नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम शुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्छ। आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्वपूर्ण आधार हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन आवश्यक छ।‘

उनले संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *