निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले जेठ १२ गते गरेको फैसलामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले फरक मत राखेका छन् । सर्वोच्चले बुधबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे फैसलाको पूर्णपाठ सार्वजनिक गर्दैछ ।
उक्त फैसलामा न्यायाधीशद्वय कार्की र शर्माले राखेको फरक मत के हो भन्ने केही बेरमा सार्वजनिक हुनेछ । ३ जना न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतको रायमा बाँकी दुई न्यायाधीशले राय बझाएका हुन् ।
तीन जना न्यायाधीशले राखेको राय नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धि अन्तिम फैसला हुनेछ ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्मा संलग्न पाँच सदस्यीय बृहत् पूर्ण इजलासले गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धि मुद्दाको फैसला सर्वोच्चले सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले यसअघि उक्त मुद्दामा सुनुवाइ गरेर तत्कालका लागि रोक लगाउन भनेपनि पूर्णपाठ वा कुनै लिखित आदेश भने जारी गरेको थिएन ।
२६ वर्षअघि नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सर्भिसेज सेन्टर लिमिटेड (नेपिकोन) ले गरेको अध्ययनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढलाई सबैभन्दा उपयुक्त स्थल भएको प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो ।
सरकारले विमानस्थल निर्माणको कार्य अगाडि बढाउने भएपछि सार्वजनिक सरोकारको निवेदनमार्फत वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता रन्जुहजुर पाँडे क्षत्रीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
