चुनावी मितिको साइत हेर्दै प्रधानमन्त्री, मंसिर ४ बलियो सम्भावना


प्रधानमन्त्री शेरबहादुर देउवाले पात्रो हेरेर चुनावको मिति घोषाणा गर्ने तयारी गरेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको चुनाव गत असार २२ गते गर्न सरकारलाई आगामी मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री देउवाले साइत हेरेर मात्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेका हुन्।

आयोगको सिफारिसअनुसार मंसिर २ गते शुक्रबार परेकाले उक्त बार आफ्ना लागि शुभ नहुने देखिएपछि देउवाले आइतबारको दिन रोजेका छन्। शुक्रबार र शनिबार देउवालाई उपयुक्त नदेखिएपछि आयोगले दिएको गते र बारलाई पन्छाउँदै देउवाले मंसिर ४ गते आइतबारको दिनलाई रोजेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।

मन्त्री रेग्मीले भनिन्, ‘अहिलेसम्म सरकारले यही मितिमा चुनाव गर्नुपर्छ भनेर औपचारिक रूपमा जानकारी गराएको छैन, मन्त्रिपरिषदमा पनि प्रस्ताव आएको छैन तर आयोगले दिएको गते र बार प्रधानमन्त्रीलाई चित्त बुझेको छैन। त्यसैले साइत हेर्दै हुनुहुन्छ।‘

कुनै पनि निर्णय गर्दा शुभ, अशुभ हेर्नु नौलो कुरा होइन। मन्त्री रेग्मीले भनिन्, ‘प्रधानमन्त्रीज्यूले पनि आयोगले दिएको समयलाई एक दुई दिन तलमाथि हुने गरी मङ्सिर ५ गते भित्र चुनावको मिति तोक्छु भन्नुभएको छ, त्यसैले मङ्सिर ४ गते आइतबार नै चुनावको मिति तोक्नुहुन्छ होला। सायद त्यही मिति उहाँलाई शुभ छ।‘

निर्वाचनको मिति आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तोक्नुपर्ने कानुनी व्‍यवस्था छ। आयोगले आफ्नो काम पूरा गरेर सरकारलाई जिम्मा लगाइसकेको छ। आयोगले चुनावको मिति प्रस्ताव गरे पनि सरकार मौन रहेपछि कतै संसदको आयु बढाउन दलहरू नै उद्यत् त भएको हैन प्रश्न पनि उठ्न थालेको छ। मिति थप्न र सरकारको आयु लम्ब्याउन प्रधानमन्त्री देउवा निकै माहिर खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *