उपेन्द्रलाई बाबुरामकाे चेतावनी : बहुमत हामीसँग छ, अहंकार नदेखाउनुस्


पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवमाथि एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट
पार्टीका गतिविधि गरेको आरोप लगाएका हुन्।

उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहेको दाबीसमेत गरे। अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुरामा कुनै सत्यता नरहेको जिकिर गरे।

तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए। उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए।

‘जनता समाजवादी पार्टी भनेको देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरेको पार्टी हो। संख्याको बहुमत पनि हामीसँग छ। कथम् कदाचित् निरुपण हुँदै गएछ भने पनि वैचारिक हिसाबले यसको मूल मर्म हो- संघीयता, सुशासन, समाजवाद र समृद्धिको जुन मूल आधार तत्त्व हुन् त्यसलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय हामीलाई छ। हामी यहाँ छाैं‚’ उनले भने, ‘त्यसैले यो बैठक अवैध, आदि इत्यादि भन्छन् भने तिनले जस्तो इतिहासलाई बंग्याउने काम, झूट बोल्ने काम कसैले पनि गरेको छैन।’

पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने उनले बताए। उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने स्पष्ट पारे।

‘हामीले यहाँ यसरी बैठक गरिरहेका छौँ, हाम्रो कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले आफ्नै ढंगले वीरगञ्जमा बैठक बोलाइ दिनुभयो। गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो। मैले जनजाति एकजना जो भए पनि बनाउनुपर्छ भनेँ तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन‚’ उनले भने, ‘अहिलेसम्म पनि मान्नुभएको छैन। हामीले देखेको पार्टीको सपनामा गम्भीर कुठाराघात भइरहेको छ। यो पार्टीमाथि ठूलो संकटको बादल मडारिएको छ।’

नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे। उनले नेपालमा पनि सरकार र राजनीतिक दलहरूमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गरे। सत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबीसमेत उनले गरे।

धन प्रयोग गरेर चुनाव जित्ने र फेरि सत्तामा पुगेर राज्य सत्ताको दुरुपयोग गर्ने यो दुष्चक्रमा नेपाल फसेको दाबी उनको थियो। नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख उनले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *