प्रधानमन्त्री प्रचण्डले भने, ‘रविजीसँग फेरि कुरा गर्छु, गठबन्धनको एकतालाई जोगाउँछु


प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाई थियो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार (आज) बिहान भएको भेटमा मन्त्रीहरू फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *