सरकारी वकिलको कार्यालयले थाल्यो रविको नागरिकता र राहदानीको अनुसन्धान


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको अनुसन्धान थालेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागलाई लामिछानेका नागरिकता र राहदानी सम्बन्धित विवरण माग गरिएको कार्यालय प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।

‘हाम्रो कार्यालयमा उजुरी परेपछि नागरिकता र पासपोर्ट जारी भएका हुन् कि होइनन् भनेर सम्बन्धित कार्यालयसँग आवश्यक विवरण माग गरेर हामीले पत्र पठाएका हौं’, नेउपानेले थाहाखबरसँग भने, विवरण प्राप्त भइसकेपछि थप निर्णय गर्छाैं।’

उनले थप अनुसन्धान गर्नुपर्ने देखिए प्रहरीलाई अनुसन्धान गरी मुद्दा दर्ता गर्न लेखि पठाइने बताए।

युवराज पौडेलले लामिछानेले कायम नभएको नागरिकता प्रयोग गरेको र झुठो विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।

पौडेल तिनै व्यक्ति हुन् जसले दायर गरेका रिटका कारण लामिछानेको सांसद, उपप्रधान एवं गृह मन्त्री, पार्टी सभापति सबै पद गुमेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *