अदालतमा टोपबहादुरको बयान सकियो, खाँण र रिजालको भोलि


पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भोलि शुक्रबार हुने भएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको अभियोग लागेका पूर्वगृहमन्त्री खाँण र रिजालको बयान भोलि लिइने जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

उनका अनुसार आज पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पुर्वसभासद आङ्टावा शेर्पा र हज समितिका अध्यक्ष शमसेर मियाँको वयान आज बिहीबार लिइएको छ। योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जनाको बयान सकिएको छ।

वयान दिएका सबैले जिल्ला अदालतमा न्यायधीशसामु इन्कारी बयान दिएका स्रोतले बताएको छ।

भोलि खाँण र रिजालको बयान सकाएर थुनछेक बहस सुरू हुनसक्ने अदालत प्रशासनले जनाएको छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएका ३० मध्ये १३ जना अझै फरारको सूचीमा छन् । उनीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *