प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ काँग्रेस सभापति शेर बहादुर देउवा कहाँ ल्याप्चे लगाउन आफ्नै दलका नेताहरू गएको आरोप लगाएका छन् ।
बुधबार नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन् ।
ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै अहिले उनीहरूको मुकुन्डो खुइलिएको तर्क गरे ।
उनले जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको पनि बताएका छन् । जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न उनले सुझाव पनि दिए । ओलीले मुलुक निर्वाचनमय भइसकेको भन्दै अब तोकिएको समयमा निर्वाचन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा छँदासम्म भूमिहीन सुकुम्वासीहरूको समस्या समाधान गर्न अवरोध गरेको आरोप लगाए । उनले अब मुलुकमा भेदभाव र पक्षपात अन्त गरिने भन्दै सुकुम्वासीहरूको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।
त्यस्तै नेकपा ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रचण्ड–माधव समूह पार्टी रक्षाको पक्षमा नभई ओलीलाई देखाएर जनमत हत्याउने प्रयासमा रहेको बताए । उनले प्रधानमन्त्रीलाई सरकार र पार्टीमा काम गर्न नदिएकै कारण ताजा जनादेशमा जाने निर्णय गरिएको धारणा राखे ।
कार्यक्रममा सहभागी नेकपा ओली समूहका नेताहरूले मुलुकलाई स्थिरता र विकासको बाटो तर्फ अघि बढाउन निर्वाचनमा जोड दिएको र जनताले आफूहरूलाई बहुमतका साथ विजयी गराउने बताएका थिए ।
