प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पाए विश्वासको मत, सरकारलाई पूर्णता दिने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्।

सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएका हुन्। विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । मत दिन्न अर्थात् तटस्थमा एक मत परेको छ।

संसद बैठकमा २ सय ६२ सांसद उपस्थित रहेका थिए। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

त्यतिबेला ९९ प्रतिशत सांसदको मत पाएका प्रचण्डले तत्कालीन सत्ता समीकरण बदलिएसँगै साढे २ महिनामा दोस्रो पटक विश्वासको मत लिने अवस्थामा पुगेका हुन्।

यसपटक प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी बाहेकका सबै दलको मत पाएका हुन् ।सरकार टिकाउन १ सय ३८ सांसदको मत आवश्यक पर्दछ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय झण्डै एक महिनादेखि प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेका छन् । विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिने बताउँदै आएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका छन्। 

संसदमा विश्वासको मत लिएर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूबीच सरकारलाई विस्तार गर्ने बारेमा छलफल हुने बताए। 

‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकरालाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ’,उनले भने, ‘दुई चार दिन भित्रै सबै टुंग्याउने र काम गर्ने विचार छ।’

उनले एमालेले भनेजस्तो गठबन्धनमा केही गडबड नहुने र अब आरामसँग सरकार चल्ने दाबी गरे। उनले यो महिनाको अन्तिम वा वैशाखको सुरुमा आफ्नो भारत भ्रमण हुने जानकारी पनि दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *