यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने जानकारी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले दिए।
‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’
उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायत सबै काम सकिएको जानकारी दिए।
एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा ७ प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए।
उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेशभित्र परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए।
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ।
यस वर्ष एसइई परीक्षामा सहभागी हुन २०७८ सालमा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए।
परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन्।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा थोरै कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी हुँदै छन्। प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन पनि सहभागी हुँदै छन्।
यस वर्ष ७ हजार २ सय सरकारी र ४ हजार ५६४ संस्थागत (निजी) गरी ११ हजार ८२९ विद्यालय एसइईमा सहभागी हुँदैछन्। परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी कूल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।
बागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा थोरै १७९ परीक्षा केन्द्र कायम गरिएको छ। कोशी प्रदेशमा ३७८, मधेश प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
एसइईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने ४ लाख ९५ हजार ६४८ जना सहभागी भएका थिए।
परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डर त्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्। परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानूनअनुसार कारबाही हुने बताए।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्तिले परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ। परीक्षा हलभित्र कुनै पनि तस्वीर लिन पाइने छैन।
यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्वीर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्वीर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘अनुगमन तथा तस्वीर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्वीर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यस वर्ष परीक्षा हलभित्र तस्वीर दिन नपाइने व्यवस्था गरेका छौँ।’
विद्यार्थीका लागि एक मिनेट, एक सेकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बन्धित निकायको व्यक्तिबाहेक पसेर अन्यलाई अनुगमन तथा तस्वीर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो।
एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन्।
प्रत्येक परीक्षा केन्द्रका परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए।
परीक्षाका प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्याइसकिएको छ। यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छापिएको छ।
