जनयुद्ध हैन, शसस्त्र द्वन्द भन्न मिल्छ !


गौरी ओली

आज जनयुद्ध दिबस भनिरहदा मेरो अन्तर मनले चाहिँ यस्लाइ जनयुद्ध मान्न सकिरहेको छैन । जनयुद्ध भनेको त समग्र जनताले आफ्नो हकहितको लागि स्वस्फूर्त रुपमा संचालित युद्ध हुनुपर्ने हो, यो त त्यसो नभै जनयुद्धका नाममा १७ हजार निर्दोष जनताको कत्लेयाम गरेको युद्ध थियो त्यसैले यस्लाइ जनयुद्ध हैन शसस्त्र द्वन्द भन्न मिल्छ ।
      २०५२ फाल्गुन १ देखि सुरु भएर २०६३ मंसिर २२ गते सम्म आइपुग्दा उक्त आन्दोलनमा हजारौं सहिद भए, हजारौं बेपत्ता भए, हजारौं घाइते भए, हजारौं बिस्तापित भए, लाखौं पीडित भए, आर्थिक भौतिक रुपमा देशलाई करोडौंको क्षेती भयो । चेतना र शसक्तिकरणमा यस्ले समाजालाई केही हदसम्म माथि उठाएपनी आर्थिक समृद्धिको पाटोमा भने यस्ले देशलाई ५० बर्ष पछाडी धकेलेको छ ।
     

यसरी बिस्थापित घाइते अपाङ्ग पिडित हुने क्रममा हामी स्वयं पनि यस्को हिस्सेदार भएका छौं । २०५९÷६० साल तिर मेरो श्रीमान एउटा राम्रो र कुसल पत्रकारको रुपमा काम गर्नुहुन्थ्यो । उहाँले केही न्युज लेखेबाफत तत्कालीन युद्धमा संलग्न पक्षबाट उहाँमाथी भौतिक कार्बाही गर्ने चेतावनी आएपछि हामी घर छोडेर सदरमुकाम सिलगढीमा बिस्थापित भै उतै  बसेका थियौं ।
      

मेरो जेठो दाइ गम बहादुर ओली तत्कालिन समयमा निकै लोकपृय हुनुहुन्थ्यो । दाई २०५४ सालको तत्कालीन एमालेको तर्फबाट घन्टेस्वर गाबिसको अध्यक्ष हुनुहुन्थ्यो । दाईको शासनकालमा त्यो गाबिसमा अर्को कुनै पार्टी थिएन । अर्को कुनै बिचार थिएन । अर्को कुनै नेता थिएन । कोहि जनता पिडित र असन्तुष्ट थिएनन् । आफ्नो घरखेत डुबाएर भएपनी जनताको सेवा गर्ने स्वस्थ छवि भएको मेरो दाई देखि आम गाबिस बासी जनताहरु खुसी थिए ! आफ्नो सर्बस्वीकारिय नेता र अभिभावकको रुपमा सबैले उहाँलाई मानेका थिए । शासन बहुत चुस्त दुरुस्त रुपमा चलिरहेको  थियो ।
      

यस्तै अवस्थामा माओबादी द्वन्द्व गाउँ–गाउँ सम्म पुग्यो । घन्टेस्वरमा चाहिँ दाईको एकछत्र शुसासन चलेको हुदा सबै गाबिस नै एकढिक्का एमालेमय थियो । यस्तो अबस्थामा माओ कमरेडहरुलाई सङ्गठन बिस्तार गर्ने कुनै आधार भएन । त्यसैले त्यहाँ दाईलाई कमजोर बनाएर आफ्नो संघठन बिस्तार गर्ने नाममा कुनै सानो निहु खोजेर दाइमाथी राजनीतिक कार्बाही गरियो । मेरो दाई र भाउजुलाइ समेत निर्मम कुटपिट गरि मरनासन्न अबस्थामा पु¥याइयो र थोरै साँस बाँकी रहदा ज्युदै खाल्डामा हाल्न लाग्दा सबै गाउले र स्कुलका सरहरुले रोइकराई बिन्ती भाउ गरि उहाँलाई खाल्डामा हाल्नबाट जोगाउनुभो !
       

यसरी दाईको अधमरो शरीरलाई गाउलेहरूले हर प्रयत्नबाट जोगाउन त सफल हुनुभो तर उहाँको पुरानो अवस्था गुम्यो उहाँ बिस्थापित हुनुभो । जनताको सेवामा समर्पित एउटा नेता बिस्थापित हुनुपर्दा र आर्थिक रुपले पनि डमाडोल हुदा उहाँले कहिले रिक्सा चलाएर खानुभो त कहिले बस्ने मुडा बुनेर । हाल मेरो दाईको साँझ बिहान दुइछाक खाने र एकसरो शरीर छोप्ने लुगा किन्नसक्ने क्षमता छैन । उहाँको गुमेको खुशी, सम्पत्ति मान प्रतिस्ठा कस्ले फिर्ता ल्याइदिन्छ ? र मानसिक रुपमा भएको बिक्षिप्तताको कस्ले औषधि गरिदिन्छ ? उहाँ मात्र हैन उहाँ सङ्गै उहाँको समग्र १२ जनाको परिवार आज बिचल्लीमा छ भने हामी सबै दुखी पिडित भएका छौ ।
     

मैले अघि माथी नै भनिसके घाइते अपाङ्ग बिस्थापित पिडित आदिको कुरा । त्यसैले मेरो पारिवारिक कुरो भएको हुदा मेरो दाई र श्रीमानलाई मैले यो समग्र पात्रहरुको प्रतिनिधि पात्रको रुपमा जोडेको मात्र हो । यसरी दुख र पीडा भोग्ने हजारौं पिडितहरु अहिले पनि आँसुको घुट्का सङ्ग गाँस निल्दैछन ? जस्ले हिजो अराजक भ्रष्ट शोषक सामन्त दलाल नोकरशाही र पुजिपतीको बर्चस्वलाइ खारेज गरि सर्बहारा बर्गको राज्यसत्ता स्थापित गर्छौ भन्दै सोझासाझा जनताका स्कुल पड्दैगरेका निर्दोष छोराछोरीलाई बन्दुक बोकाए, युद्धमा होमे र तिनीहरु मार्फत हजारौं निहत्था जनताको कत्लेयाम गराए, कार्बाही गराए, देशका हजारौं भौतिक संरचनाहरु ध्वस्त गराए !  आज तिनै मान्छे देशको सबै भन्दा सेतो र महङ्गो हात्तिको रुपमा उच्च स्थानमा बिराजमान छन । माथिको निर्देशनको आधारमा जस्ले युद्ध हाके तिनीहरु आजपनी भुइका भुइ छन ! गरिबीको पिडाले विभिन्न खालका बिकृती र बिसङ्गतीमा सामेल छन । कोहि बिदेशको तातो घाममा पसिना बगाउदैछन ।
       

आम सर्बहारा श्रमजिबीको शासन ल्याउने भनेर गरिएको उक्त शसस्त्र द्वन्द अहिले आम जनताको लागि नभएर केबल एक वा केहि ब्यक्तिहरुको लागि मात्र थियो कि जस्तो भएको छ । न्यायमा आधारित समतामूलक समाज निर्माणको लागि गरिएका विभिन्न आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नकै लागि भनेर हिजो पार्टी एक भयो मिलेर चुनाव लडियो । यसरी तालमेलमा चुनाव लड्दा मेरा दाई जस्ता हजारौं पिडितहरुलाइ हात कमाउदै भएपनी सोही पक्षलाई भोट हाल्न आग्रह गरियो । उहाँहरुले पनि एक हातले आफ्नो छातिमा दन्कीरहेको पिडालाइ च्याप्दै अर्को हातले भोट हाल्नुभो । कारण आफुले जति दुख र पीडा भोगे पनि आफ्ना सन्ततीहरुले सुख पाउन, देशले स्थाइत्व र शुसासन पावस भन्ने नै थियो ।
       

बर्तमानको अवस्थालाई हेर्दा त्यो पनि केबल बालुवामा पानी भयो । यहाँ समग्र जनताको लागि हैन केहि ब्यक्ति र उस्को परिवारको सुख सयल र कुर्सीको लागि मात्र जनयुद्ध गरेजस्तो भयो ! जस्ले हामीलाई हिजो परिबर्तनका लागि विभिन्न आन्दोलन र हतियार युद्धमा लाग्न प्रेरित गरे आज तिनीहरूले नै प्राप्त उपलब्धिहरुलाई मास्न उद्दत छन ! केबल आफ्नो कुर्सीको लागि सडकमा चिल्लाइरहेका छन ! खै कहाँ छन घाइते ? कहाँ छन अपांग ? केछ सहिद परिवारको हाल ? बेपत्ताको अवस्था केछ ? जनयुद्धका नाममा सिमित नेताका लागि धनयुद्धमा सामेल गराइएका  हजारौं कार्यकर्ताहरु कहाँ छन ? असक्षमको बिल्ला भिराउदै बहिर्गमित बनाइएका तत्कालीन लाल सेनाहरु कहाँ छन ? मेरा दाईजस्ता छाक बास उडाएर बिस्थापित पारिएका पिडितहरु कहाँ छन ? आम श्रमजिबी सर्बहारा मेहनतकस जनताहरु कहाँ छन ?  कसैलाई सोच्न फुर्सद छ यता ? अह छैन, यहाँ त केबल कुर्सीको तान्डब नृत्य चलिरहेछ ! बस कस्ले कस्लाइ सिध्याउने र सत्तामा लिप्त रहने ? केबल जुङ्गाको लडाइ ! आज सडक असान्त छ  आन्दोलित छ तर त्यो आन्दोलन जनता र देशको लागि हैन केबल कमरेड केपी लाई हटाएर कमरेड प्रचण्ड लाई प्रधानमन्त्री बनाउनको लागि मात्र !
      

जेहोस कुनै स्वार्थ नबोकि बिसुद्ध भावनाले देश र जनताको लागि युद्धमा होमिदै गर्दा ज्यान गुमाउन पुग्नुभएका हजारौं सहिदहरु प्रति हार्दिक श्रधान्जली र घाइते अपाङ्ग बेपत्ता पिडितहरु प्रती हार्दिक सम्मान !
(लेखक नेकपा(नेकपा) का केन्द्रिय सदस्य हुनुहुन्छ !) (यो आलेख जनयुद्ध दिबसको विषेश लेखिएको हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *