कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारले गति लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण गरिसकेको छ। हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ।
बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भईरहेको आयोजनाले जनाएकोे छ। आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटानको अनुमति नदिँदा विस्तारको काममा समस्या उत्पन्न भएको थियो।
पहिलो चरणमा टावर निर्माण गरिनेछ भने दोस्रो चरणमा तार तान्ने, सबस्टेशन निर्माणलगायत काम गरिने आयोजनाले जनाएको छ। सुर्खेतसहित कर्णालीका १० वटै जिल्लाको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तार निरन्तर अघि बढेको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए।
उनले रफ्तारमा कुनै अवरोध बिना काम अगाडि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने बताए। प्रमुख चौधरीका अनुसार प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १ सय ६२ वटा टावर निर्माणको भइरहेका छन्।
यसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। प्राधिकरणका प्रमुख चौधरीले प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख काट्नुपर्ने बताए। यीमध्ये केही रुखहरु काटिसकिएका छन्।
आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेंसी नगरपालिकासहित बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छन।
प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वनको क्षेत्र, १६ दशमलव १३५ खेतीयोग्य जमिन, २ दशमलव २६५ बाँझो जमिन तथा ११ दशमलव ०६५ अन्य भागले ओगटेको छ। विद्युत प्रसारण लाइन कार्यान्वयनका लागि निजी, सामुदायिक तथा सरकारी वन क्षेत्र गरी कूल जग्गाको क्षेत्रफल २२५ वर्गमिटर हुनेछ।
९८ दशमलव.०५७९ हेक्टर जग्गा टावर निर्माण, सब–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ। जसमध्ये ३ दशमलव ७२४९ हेक्टर स्थायी रूपमा सब-स्टेसन निर्माणमा र ३ दशमलव ३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण हुनेछ भने बाँकी ९१ दशमलव ०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ।
प्रसारण लाइन बाँकेको कोहलपुर सब–स्टेसनबाट सुरू भई सुर्खेतको सुब्बाकुना सब-स्टेसनमा पुगेर टुङ्गिनेछ। यही विद्युत जाजरकोट हुँदै डोल्पा र सुर्खेत-दैलेख हुँदै कालिकोट र जुम्ला पुर्याइएको छ।
अन्य ठाउँमासमेत विद्युत प्रशारण लाइन निर्माण तीव्र पारिएको छ। अहिले कर्णालीले नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पाएको छ। सुर्खेतसम्म १३२ केभीको लाइन निर्माण पूरा भएमात्र अन्य जिल्लामा उक्त प्रशारण लाइनको निर्माण सुरु गरिनेछ।
