कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएकाे छ ।
प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी २३ जना सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे ।
कँडेललाई एमालेका नाै, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदकाे समर्थन चाहिन्थ्याे ।
यसअघि माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनकाे समय दिएर दलहरूलाई आह्वान गर्नुभएकाे थियाे ।
शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएकाे सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उहाँले राजीनामा दिनुपर्ने अवस्था आएकाे हाे ।
