नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ।
पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणका वेला पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए।
उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए। त्यसै आन्दोलनका क्रममा निधन भएकालाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए।
उनले भने‚ ‘बैठकले ३ वटा निर्णय गरेको छ। पूर्वमा कोशी प्रदेश नामकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो। त्यतिखेर कमजोरी भएको छ। अर्को निर्णय आन्दोलनको क्रममा मृत्यु भएकालाई हामीचाहिँ शहीद घोषणा गर्नुपर्छ र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ। तेस्रो कुरा, मिटरब्याजीको आन्दोलन चलिरहेको छ। हामी मिटरब्याजी पीडितहरूकै पक्षमा छौँ भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ। अध्ययन गर्नुपर्छ। वार्ता, संवादबाट समस्याको हल खोज्नुपर्छ।’
बैठकले मिटरब्याजी पीडितहरूको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने निर्णय गरेको छ। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीवारसम्म पूर्णता पाउने बताए।
