कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते


सल्यानमा आपसी वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन्। जिल्लाको शारदा नगरपालिका–१२ मूलडाँडामा एसईई परीक्षा दिने विद्यार्थीबीच वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका हुन्।

शारदा नगरपालिका–७ कजेरीका अन्दाजी १९ वर्षीय वीरबहादुर बुढाथोकी लगायत ७÷८ जना विद्यार्थीले छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरका अन्दाजी १९ वर्षीय सन्दीप थापालाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

परीक्षा दिने समयमा वादविवाद भएकोमा बुढाथोकीको समूहले थापामाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते थापाको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बताए। कुटपिट गर्ने बुढाथोकी लगायतका विद्यार्थी फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *