राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अबस्था डरलाग्दो रूपमा धरासायी हुने तर्फ गइरहेको तर सत्तासिन दलहरू यसतर्फ उदासीन भएको आरोप लगाएका छन्। गम्भीर रूपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरू लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ।
आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रूपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर छ।
थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ ,तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अबस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ।’
मुलुकमा सबै क्षेत्रमा बेथिति र विसङ्गति हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दु बादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए।
राप्रपा नेपालले अंगीकार गरेको वैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधीनता,लोकतन्त्र र आर्थिक सम्बृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे। पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आवश्यकता भएकोले उच्च मनोबल सहित संगठन केन्द्रित हुनुपर्ने उनले बताए।
बैठकमा महामन्त्री त्रय भास्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र संगठन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने। जिल्ला अध्यक्षहरूले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए।
