नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको काम अघि बढाउने बताएका छन्।
सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर आइतबार पदभार ग्रहण गरेलगत्तै उनले उक्त काम अघि बढाइहाल्ने बताएका हुन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर अघि बढाउने बताए।
मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए। उनले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले भने, ‘नेपाल शान्तिपूर्ण मुलुक हो। हामी संसारका सबै देशसँग इतिहासदेखि नै अत्यन्त सौहाद्रपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहेको छ। यसरी हामी नेपाल एउटा शान्तिप्रिय र लोकतान्त्रिक देशको रुपमा विश्वभर चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु।’
त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्चपदस्थ कर्मचारीहरूले मन्त्री साउदको स्वागत गरेका थिए।
