युवा तथा उद्दमीलाई “कोसेबालीको बीउ उत्पादन” तालिम


गोपाल ओलि , खजुरा : नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा बाँकेले युवा तथा उद्दमी वर्गलाई लक्षित गरि “कोसेबालीको बीउ उत्पादन” बिषयमा कृषि आवसिय तालिम आज शुक्रबार देखि सुरु गरेको छ ।

एक हप्ता सम्म संचालन हुने तालिमको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले उद्घाटन गर्नुभयो । कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा.राजेन्द्र दराईको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्ने कृषि विज्ञहरुले दलहन बालिको विकासका लागी किसान स्तरमै प्राविधिक ज्ञान सिप आवश्यक रहेको बताएका थिए । २० गते सम्म संचालन हुने तालिममा २० जना किसानहरुलाई सहभागिता जनाइएको छ ।
तालिमबाट कृषकले बीउ उत्पादनका सैदान्तिक र प्रयोगात्मक ज्ञान हासिल गर्ने, बाली प्रजननतर्फ दलहनबालीको जातीय विकासका चरण, बालीको उन्नत खेती प्रविधि, बीउ उत्पादन गर्दा अपनाउने पर्ने मापदण्डहरुका बारेमा छलफल हुने कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. दराईले जानकारी दिनुभयो ।
माटोको उर्वराशक्ति, बाली सघनिकरण, बाली बिबिधिकरण र खाद्य तथा पौष्टिक सुरक्षामा दलहनबालीको प्रमुख भूमिका रहने र कुल कृषि खेती योग्य जमिनको ११% मा दलहनको खेती हुने भएकाले नेपालको विभिन्न भौगोलिक वातावरणमा खेती हुने दलहन बाली नेपाली कृषकले परापूर्वकाल देखिनै लगाउदै आइरहेको डा. दराईले बताउनुभयो । किसानको खेत बारीमा खेती हुदै आइरहेका हिउदे बाली जस्तै मसुरो, चना, राजमा, खेसरी, बकुल्ला र बर्षे बाली भटमास, मास, मुंग, रहर, सिल्टुङको अध्यन र अनुसन्धान गरि नयाँ जात उन्मोचनको लागि कोसेबाली अनुसन्धान कार्यक्रमले लामो समय देखि काम गरि विभिन्न दलहनबालीका ४५ वटा जातहरु शिफारिस गर्न सफल भएको डा. दराईले उल्लेख गर्नुभएको छ ।

त्यस्तै तालिम अवधिभर बाली संरक्षण तर्फ रोग, किरा, पहिचान र व्यवस्थापन, बाली बिज्ञान तर्फ झारपात पहिचान व्यवस्थापन, मलखाद तथा सुक्ष्म तत्वको महत्व र व्यवस्थापन विधि , खेती गर्ने, माटोको उर्वराशक्ति सुधार गर्ने तरिकाको बारेमा किसानहरुलाई सिकाई प्रदान गरिने कोसेबाली अनुसन्धान कार्यक्रमका बाली रोग बैज्ञानिक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै गाउँ स्थरमा बीउ उत्पादन कार्यक्रमको महत्व र संचालनको लागि आवश्यक मापदण्डणको बारेमा पनि तालिमले सहभागीलाई जानकारी दिने अपेक्षा गरिएको बाली रोग बैज्ञानिक अर्यालले बताउनुभयो । तालिमले दलहन बालीको उत्पादन पश्चात मूल्य अभिबृद्धिकरण परिकार जस्तै दालमोट, भुजिया, बेसन आम्दानीको स्रोत हुने कुरालाई जोड दिदै महिला बर्गलाई यस ब्यवसायमा लाग्न प्रेरित गर्नेछ ।
एक हप्ते कृषक आवसिय तालिमको सिकाई पश्चात सहभागीहरुले दलहनबालीको सम्पूर्ण ज्ञान सिप आर्जन गरि भोलिको दिनमा यसको व्यवसाहिक खेती तर्फ उन्मुख भइ नेपालमा दलहनबालीको क्षेत्र विस्तार संगसंगै उत्पादन र उत्पादकत्वमा सहयोग गर्ने र आउने दिनमा नेपालबाट मसुरो मात्र नभई सम्पूर्ण दलहन बाली बिश्व बजारमा निर्यात भई नेपालको आर्थिक सम्पन्नताको लागि अहम भूमिका खेल्न सक्ने अपेक्षा पनि कोशेबाली अनुसन्धान कार्यक्रमले लिएको बैज्ञानिक अर्यालले उल्लेख गर्नुभयो । तालिममा देशका चार प्रदेशका २० जना किसानहरुको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *