गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार यही वैशाख १४ गते दिउँसो ४ बजेभित्र सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
यही वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो। ६० सदस्यीय गण्डकी प्रदेशसभामा अब कांग्रेस, माओवादी र एकीककृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ। नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र एकीकृत समाजवादीका एक सदस्य छन्।
ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् तर माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ।
