देश कंगाल पार्नेलाई छाड्दैनौँ, जेल हाल्छौँ : रवि लामिछाने


चितवन क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश कंगाल पार्नेहरूलाई आफूहरूले नछाड्ने बताएका छन्।

विजयी भएको प्रमाणपत्र बुझिसकेपछि मंगलबार दिउँसो आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले भ्रष्टाचार गरेर देश कंगाल पार्नेहरूलाई ठेगान लगाउनकै लागि आफूहरू राजनीतिमा आएको बताए।

‘तपाईंहरुले हामीबाट चाहनुभएको पहिलो कुरा सुशान हो। यो देशलाई कंगाल पार्नेहरूलाई नछोड्नु भन्नुभएको छ, हामी कुनै हालतमा छोड्दैनौँ, निर्धक्क हुनुहोला।’ लामिछानेले भने, ‘यो देशलाई कंगाल पार्नेहरूको हिसाब निकाल्न हामी राजनीतिमा आएका हौं। कुनै दिन यी मंचमा त्यस्ता हिसाब सार्वजनिक गर्ने दिन आउनेछ।’

उनले संसदमा आफू पुनः प्रवेश गर्दा पहिलो दिन दुई वटा लोगो लगाएर जाने पनि बताए। यसअघि मंसिर ४ को चुनावमा निर्वाचित भएपछि प्राप्त गरेको सांसदको लोगो आफूले साँचेर राखेको उनले बताए।

‘मैले यस अगाडि पाएको सांसदको लोगो साँचेर राखेको छु। अब संसदको पहिलो दिन म दुई वटै लोगो लगाएर जानेछु। त्यो चितवनवासीको सम्मानका लागि हो।‘ उनले भने, त्यो दुई वटा लोगो भ्रष्टाचारीको अन्त्यका लागि र भ्रष्टाचारीलाई जेल पठाउनका लागि दुई सिफ्टमा काम गर्नका लागि हुनेछ। यो देशको विकासका लागि डबल सिफ्ट काम गर्नेछौं भन्ने संकेत हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *