अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समLक्षा सरकारले चाहेको जस्तो नभएको गुनासो गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो गुनासो गरेका हुन्।
उनले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरे तापनि सरकारले चाहेको जस्तो नभएको बताए। उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने बताए।
अर्थमन्त्री डा. महतले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहको लागि सहज बनाउने बताए। उनले सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने बताए।
उनले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गरे। उनले अनावश्यक कानून, नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्याराहरुलाई हटाउने प्रयास बजेटमार्फत गर्ने बताए।
उनले भने, ‘आज मौद्रिक नीतिको तेस्रो समीक्षा आएको छ तर सरकारले चाहेको जस्तो भएको छैन। तर पनि मलाई लाग्छ अर्थतन्त्रमा सकारात्मक सन्देश दिन्छ र लगानीकर्ताहरुलाई रकमको आवश्यकता छ। त्यसलाई पूर्ति गर्नेतर्फ मद्दत गर्छ। निजी क्षेत्रले दिएका सुझाव सल्लाहलाई सम्बोधन गर्नसक्ने हदसम्म गहिराईमा गएर औचित्य र आवश्यकताका विषयमा छलफल गर्छौं। सरकारको मुख्य लक्ष्य भनेकै अर्थतन्त्रलाई चलायमान गराउने हो। अनावश्यक कानून नियमावलीमा वा निर्देशनमा रहेका हर्डल्स, अफ्ठ्याराहरु समग्र अवरोधहरुलाई हटाउन कोशिस गर्छौं। निजी क्षेत्र व्यापारको क्रियाशीलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना हुँदैन। उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्दैन। राजश्व बढेमात्रै बजेटको आकार बढ्दैन। बजेटको आधार बढ्यो भने मात्रै राज्यको लगानी गर्ने क्षमता बढ्छ। शिक्षा‚ स्वास्थ्य‚ सामाजिक सुरक्षा, पुँजीगत खर्च, पूर्वाधार विकासमा निजी क्षेत्र आउँदैन।’
उनले निजी क्षेत्र व्यापारको क्रियाशीलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्न नसक्ने बताए। उनले राजश्व बढेमात्रै बजेटको आकार बढ्ने र बजेटको आधारमा वृद्धिमात्रै राज्यको लगानी गर्ने क्षमता बढ्ने दाबी गरे।
