जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । प्रशासनले शुक्रबार अपांग भएकी वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिइएको हो ।
थापाले घरमै नागरिकता पाएकोमा खुसी व्यक्त गरिन् । अपांग भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए ।
निवेदनको आधारमा घरमै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए । अधिकृत थापाका अनुसार रोशनीले नागरिकताका लागि प्रशासनमा निवेदन दिएकी थिइन् ।
‘हामीले उहाँको सहजताका लागि भएपनि उहाँको घरमै आएर राज्यबाट पाइने नागरिकता सेवा दिएका हौँ,’ नागरिकता वितरणपछि अधिकृत थापाले भने ।
रोशनी जन्मजात नै अपांग हुन् । लामो समयसम्म उपचार गर्दा पनि राम्राे नभएको रोशनीले बताइन् ।
