आर्थिक मन्दी हुँदा पनि सरकार गम्भीर भएन : प्रमुख सचेतक गिरी


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देश आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाएका हुन्। उनले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ? त्यसको जानकारी दिनुपर्ने बताए।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजान सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिनसमेत माग गरे। उनले सरकारले अर्थतन्त्र मन्दीको स्थितिमा जाँदासमेत गम्भीर हुन नसक्नु राम्रो नभएको बताए। उनले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘मुलुकको व्यापार व्यवसाय चौपट छ। आमनागरिक एकदमै अत्यासलाग्दो अवस्थाबाट गुज्रिएको अवस्था छ। यतिवेला सरकारले के गर्दै छ? अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजान सरकार के गर्दै छ। सरकारले जनतालाई आश्वस्त पार्ने गरी बाहिर केही ल्याउन सकेको छैन। कुनकुन क्षेत्रमा कसरी सुधार गरेर अगाडि बढ्ने भनेर संसद्लाई जानकारी दिएको छैन। त्यसैले समितिमा अर्थमन्त्रीलाई बोलाएर मुलुकको अर्थतन्त्रको अवस्था के हो? आर्थिक मन्दीबाट माथि उठाउन सरकारले के गर्दै छ भनेर छलफल गर्न आवश्यक छ।’

उनले नेप्सेलाई नै धराशायी बनाउने गरी केही ठूला व्यवसायीको मिलेमतोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम भइरहेको विषयमा अर्थ समितिले छानबिन गर्न आवश्यक रहेको औंल्याए।

उनले अघिल्लो अर्थ समितिले नयाँ साझेदार ल्याउन सुझाव दिए पनि अहिले नयाँ एक्सचेन्ज ल्याउने तयारी कसरी भयो भन्ने विषयमा तत्काल समितिले छानबिन गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *