भ्रष्टाचार नगर्ने मानिस नेपालमै पाउन मुस्किल : बाबुराम भट्टराई


नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको दाबी गरेका छन्।

बिहीवार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए।

उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए। उनले देशमा भ्रष्टाचार अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको पनि उल्लेख गरे।

उनले भने, ‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजाने न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो। अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने भएको छ। यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ। त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ। पुराना र उदाइरहेका नयाँ शक्तिभन्दा नेपाल समाजवादी फरक पार्टी हो।’

अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *