देशको जिम्मा लिएकाहरू नदीनाला विदेशीलाई जिम्मा लगाउनु उपलब्धि ठान्छन् : राजेन्द्र लिङदेन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आह्वान गरे।

‘तपाईंहरूले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको छ।’ अध्यक्ष लिङदेनको भनाई थियो ।

उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावीसमेत गरे।

‘यो लडाइँ देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँ, यो लडाइँमा उभिनु पर्ने भयो । यसमा एकचोटी तपाईंहरूको साथ चाहियो। सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु । तपाईंहरूले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो। उनले भने, ‘आज हेर्नुस् त देशको जिम्मा लिएको राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धि ठान्न थालेका छन्। आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दा यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ ।’

अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरूका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए। उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरूले चुप लागेर बस्न नमिल्ने पटकपटक दोहोर्‍याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *