जिम्बावेसँग नेपाल ८ विकेटले पराजित : विश्वकप छनोट


आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ।

जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो।

​जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले।​ एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। वेस्ली मधेभरेले ३२ रनको योगदान गरे। जोएलर्ड गाम्बीले २५ रन जोडे।

बलिङतर्फ सोमपाल कामी र गुल्सन झाले १/१ विकेट लिए। ब्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालको बलिङ भने आज निकै खराब रह्यो।

सुरुमै करण केसीलाई बलिङमा उतारेर गम्भीर गल्ती गरेका कप्तान रोहित पौडेलले स्पिनर ललितनारायण राजबंशीलाई बेञ्चमा राखेर गरेको अर्को गल्ती नेपालका लागि महँगो सावित भयो।

आशा गरिएका स्पिनर सन्दीप लामिछाने र दिपेन्द्रसिं ऐरी आज निकै महँगो साबित भए। १० ओभर बलिङ गरेका लामिछानेले ७७ रन दिए पनि कुनै विकेट लिन सकेनन्।

पूरै १० ओभर बलिङ गरेका ऐरीले पनि कुनै पनि विकेट नलिई ५८ रन दिए।

यसअघि टस जितेर घरेलु टोली जिम्बावेले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनाउँदै घरेलु टोलीलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो।

नेपाली ओपनर जोडी कुशल भूर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको ठूलो स्कोरको आधार तयार पारे। भूर्तेल र आशिफको जोडीले १७१ रनको साझैदारी गर्‍यो।

​१३ चौका र २ छक्का हानेका भूर्तेल नर्वस नाइन्टीको शिकार भए र १ रनले शतक बनाउनबाट चुके। ९५ बल खेलेका उनी व्यक्तिगत ९९ रनमा ३२औं ओभरमा नेपालको पहिलो विकेटका रुपमा आउट भए।

सय बल खेलेर ७ चौका हिर्काएका आशिफ पनि व्यक्तिगत ६६ रनमा आउट भए। नेपालको दोस्रो विकेटका रुपमा उनी ३४औं ओभरमा आउट हुँदा नेपालको स्कोर १७४ रन थियो।

पहिलो विकेटका लागि भूर्तेल र आसिफले गरेको १७१ रनको साझेदारी नेपालले एकदिवसीय अन्तरराष्ट्रियमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि एकदिवसीय अन्तरराष्ट्रियमा ठूलो साझेदारी ज्ञानेन्द्र मल्ल र आसिफ शेखको नाममा थियो। उनीहरुले गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका १३९ रनको साझेदारी गरेका थिए।

२९ बलको सामना गरेका कप्तान रोहित पौडेल ३१ रनको पाली खेलेर पवेलियन फर्किए। ५ चौका ठोकेका पौडेल ४४औं ओभरमा आउट हुँदा नेपालको स्कोर ३ विकेटमा २ सय ४६ रन थियो।

भूर्तेल आउट भएपछि क्रिजमा आएका कुशल मल्लले २१ बलको सामना गरेर ३ छक्का र २ चौकाको सहायतामा ४१ रन हिर्काए। उनी ४५औं ओभरमा आउट हुँदा नेपालको स्कोर ४ विकेटमा २५५ रन थियो।

यसपछि आरिफ शेख ११ बलमा १० रन बनाएर ४७औं ओभरमा पाँचौं विकेटका रुपमा आउट भए। नेपालको स्कोर २८३ रन हुँदा छंठौं विकेटका रुपमा अलराउन्डर गुलशन झा आउट भए।

४९औं ओभरमा नेपालको ७औं विकेट भीम सार्कीका रुपमा खस्यो। उनी पहिलो बलमै रिभर्स स्विप गर्दा विकेटकिपरबाट क्याच आउट भए। त्यसवेला नेपालको स्कोर २८३ रन नै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *