दैलेखमा ७३ हजार पशुमा ‘लम्पी स्किन’


दैलेखमा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखिएको छ। पशुमा महामारीका रूपमा ‘लम्पि स्किन’ रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। ‘लम्पी स्किन’ रोगका कारण हालसम्म दैलेखमा करिब ४३५ पशु परेका छन्।

विशेष गरी गोरुमा ‘लम्पी स्किन’ रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए। उनले हालसम्म दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखा परेको बताए।

पशुमा ‘लम्पी स्किन’ रोग महामारीका रूपमा फैलन थाले पनि सम्बन्धित निकायले चासो नदिएको किसानको गुनासो छ। बर्खाको समयमा गोरु मर्न थालेपछि खेती लगाउन किसानलाई समस्या हुने गरेको छ।

निमित्त कार्यालय प्रमुख विष्ट भने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि काम भइरहेको बताउँछन्। ‘पशुमा ‘लम्पी स्किन’ फैलिएपछि कार्यालयले औषधि खरिद गरी स्थानीय तहमा पठाएको छ। सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ। टोलटोलमा पशु प्राविधिक खटाएर रोग नियन्त्रणतर्फ लागेका छन्’, विष्टले भने।

‘लम्पी स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घट्ने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको विष्टको भनाइ छ। उनका अनुसार किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम बढ्दो छ।

उनले भने, ‘रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो। हालसम्म प्राप्त जानकारीअनुसार दैलेखमा करिब ४३५ पशु मरेका छन्। रोग नियन्त्रण हुने क्रम जारी छ, सङ्क्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने र किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *