अहिले अर्थतन्त्रले बिस्तारै पिकअप गरिराखेको छ : अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन्।

बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन्। उनले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताए।

उनले अब ब्याजदर घट्ने बताए। त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए। उनले मानिसहरूमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिचकिचाइरहेको परिस्थितिमा अब त्यस्तो परिस्थिति अन्त्य भएको बताए।

उनले भने, ‘धराशायी केही पनि छैन। अहिले अर्थतन्त्रले बिस्तारै पिकअप गरिराखेको छ। अब ब्याजदर पनि घट्छ। जग्गाको कारोबार बढिरहेको छ। पर्यटक बढिराखेका छन्। रेमिट्यान्स बढेको छ। अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै छ। त्यसको म तथ्यांकसहित केही दिनमा प्रस्तुत पनि गर्छु। हामी बजेट कार्यान्वयनमा सक्रियतापूर्वक लाग्छौँ।’

अर्थमन्त्री महतले नेपालमा लगानी गर्न विदेशी दाताहरू र मित्रराष्ट्रहरूको चाख बढिरहेको बताए। त्यस्तै वैदेशिक सहयोगको परिस्थिति पनि सकारात्मक भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *