प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे।
प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भएका थिए। बेइजिङमा उनी र चिनियाँ जनमुक्ति सेना,सीएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए।
भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहेका थिए। प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थिए।
