सांस्कृतिक आधार तयार पार्न चाडपर्व महत्त्वपूर्ण छन् : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले आज (सोमवार) शुभकामना सन्देश दिँदै नेपालीको महान पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्तसमेत गरेका छन्।

नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई ठूलो आधार प्रदान गरेको समेत बताएका छन्।

‘तिहारलगायत पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत हुन्। यस पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सदभाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो बनाउँछ। उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपक्षीको योगदान र मानवसँगको अन्तरक्रिया प्रगाढ बनाउँछ। देउसी भैलोलगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताको सङ्गम स्थलका रूपमा रही आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधार भएको बताए।

‘नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित छन्। यस्ता पर्वभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तरनिहित छन्,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *