नेकपा एमालेले भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणका क्रममा भएका सम्झौताबारे आफूहरूसँग परामर्श नगरिएको भन्दै आपत्ति जनाएको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले भारतसँग भएको भनिएका सम्झौता सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
‘दुई देशका बीचको संयुक्त आयोगको बैठकमा के के विषयमा छलफल भयो र के के सम्झौताहरू भए भन्ने विषयमा सत्तापक्षले प्रतिपक्षसँग परामर्श नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ।’ पोखरेलले भने, ‘ राष्ट्रियताको पक्षमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा हामीसँग परामर्श नगरिएको र के-के सहमति सम्झौता भयो स्पष्ट नपारेको सन्दर्भमा हामीले सरकारका तर्फबाट भएका कमजोरीको आलोचना गर्दै के-के विषयमा सहमति सम्झौता भएका छन् भन्ने स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौं।’
एमालेले भारतीय राजदूतावासले सिधै खर्च गर्नसक्ने रकमको सीमा २० करोड पुर्याएको विषयमा पनि विरोध जनाएको छ।
‘नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु हुँदैन।’ पोखरेलले भने, ‘वैदेशिक सहायता नेपालको बजेटरी प्रणाली भित्रै हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ।’
