मृतकका परिवारसँग ११ बुँदे सहमति भएसँगै सर्लाहीको बरहथवा क्षेत्र शान्त बनेको छ।
गत शुक्रवार अस्पताल निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि बरहथवा आज दिनभरि तनावग्रस्त बनेको थियो।
मृतकका परिवार र स्थानीय प्रशासनबीच आज साँझ एघारबुँदे सहमति भएसँगै बरहथवा क्षेत्र शान्त बनेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले थाहाखबरलाई जानकारी दिए।
सहमतिअनुसार प्रादेशिक अस्पताललाई मृतक जयशंकर साह नामकरण गर्ने, परिवारले चाहेको स्थानमा मृतकको शालिक निर्माण गर्ने, मृतकका परिवारमा रहेका आश्रित परिवारका एकजना सदस्यलाई रोजगारी दिने, घटनाको निष्पक्ष छानबिन गर्नेलगायत विषयमा सहमति भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले जानकारी दिए।
सहमति भएसँगै मृतक शाहको शव उनको परिवारले बुझेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको कर्फ्यू भने भोलि (सोमवार) दिउँसो पौने १ बजेसम्मका लागि यथावत रहने सहायक प्रजिअ अधिकारीले बताए।
कर्फ्यूबीच आज दिउँसो प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्दा ११ जना प्रहरी घाइते भएका थिए। प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालयमा रहेको गोलघरमा आगो लगाइदिएका छन्।
उनीहरुले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेको इलाका प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए।
