प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरूबीच आज द्विपक्षीय भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा समेत उनले भने।

सो क्रममा श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलङ्काबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *